२४ असार, काठमाडौं । लगातारको वर्षाका कारण नेपालका प्रमुख नदीहरूमा जलसतह अत्यधिक बढेको छ। यसै क्रममा, भोटेकोशी नदीमा आएको एक्कासि ठूलो बाढीले रसुवामा ११ जना बेपत्ता बनाएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले आज बिहान भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको र ११ जना बेपत्ता भएको जानकारी दिए। बाढीले भन्सार क्षेत्रमा थप क्षति पुर्याएको र बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरिएको उनले बताए।
त्रिशूली र भोटेकोशी नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई तत्काल उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग र जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार बिहान ६.१० बजेको मापनमा त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ र पानीको सतह अझै बढ्दो क्रममा छ। विभागले त्रिशूली नदी (रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने) र भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ।
धादिङ प्रशासनको विशेष आग्रह
जिल्ला प्रशासन कार्यालय धादिङले पनि त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। वर्षाका कारण सडक र पुलमा समेत क्षति पुगेकाले त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाइ छ।
प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपायालाई सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा रहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। नदीहरूको जलप्रवाह बढ्दो क्रममा रहेकाले सम्बन्धित सबैलाई सावधानीपूर्वक रहन आह्वान गरिएको छ। बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।















