२४ असार, रसुवा । मित्रराष्ट्र चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण आज (मंगलबार) बिहानै रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं। २ स्थित रसुवागढीमा भीषण बाढी आएको छ। बिहान करिब ३ः०० बजेदेखि सुरु भएको बाढीले ठूलो क्षति पुर्याएको छ, जसका कारण नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस र सवारी साधनको आवतजावत बन्द भएको छ।
बिहान ४ः ४० बजेसम्म गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ मा रहेको ईभी चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ र अनुमानित ७र८ वटा ईभी गाडीहरू बाढीले बगाएको छ। भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ।
उद्धार कार्य जारी, प्रहरी कर्मचारी बेपत्ता
आपत्कालिन अवस्था सिर्जना भएलगत्तै उद्धार टोलीहरू खटाइएको छ। तर, स्थिति अझै भयावह छ, धेरै व्यक्तिहरू बेपत्ता भएको खबर छ। बेपत्ता हुनेहरूमध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा लगायत तीन जना नेपाल प्रहरीका कर्मचारी रहेका छन्।
उद्धार कार्यका लागि विभिन्न युनिटबाट कूल ९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। यसमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्ण बहादुर धिताल ९८५१२७५५५५ को कमान्डमा २० जना, इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट प्रहरी नायब निरीक्षक धन बहादुर तामाङको कमान्डमा २८ जना, प्रहरी चौकी रसुवागढीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन महन्त गिरीको कमान्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेसी रसुवाबाट ८ जना, प्रहरी चौकी हाकु रसुवाबाट ७ जना, सशस्त्र प्रहरी पोष्ट मैलुङ रसुवाबाट ९ जना र प्रहरी चौकी बेत्रावतीबाट १० जनाको प्रहरी टोली खटिएको छ।
उद्धार तथा सडक अवरोध
हालसम्म ९ जनाको उद्धार गरिएको छस् १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी बल नेपाल र ७ जना स्थानीय मानिसहरू। तर, बेपत्ता हुनेहरूको कुल संख्या १८ पुगेको छ, जसमा तीन जना प्रहरी जवान, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक रहेका छन्।
बाढीले यातायात पूर्वाधारमा पनि ठूलो असर पुर्याएको छ। बिहान करिब ७स्५० बजे गोसाइँकुण्ड गाउँपालिका वडा नं। ५ स्थित पासाङल्हामु सडक खण्डमा बाढीका कारण सडक चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ। यसले उद्धार कार्य र यस क्षेत्रको यातायातमा थप जटिलता उत्पन्न गरेको छ।
अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गर्न र क्षतिको पूर्ण मूल्यांकन गर्न प्रयास जारी राखेका छन्। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन र उद्धार टोलीहरूसँग सहयोग गर्न सल्लाह दिइएको छ।















