२३ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले करार र ज्यालादारी रहेका सबै कर्मचारीको नियुक्ति बदर गरेको छ।
पोखरिया नगरपालिकाले २०८२ असार २३ गतेको नगर कार्यपालिका बैठकको निर्णयानुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ज्यालादारी वा करारमा नियुक्त भएका सबै कर्मचारीको नियुक्ति बदर गरेको हो । यस निर्णयले नगरपालिकाभित्र कार्यरत नगर प्रहरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीका साथै नगरभित्रका कुनै पनि संस्थामा करार सम्झौतामा खटिएका सबै शिक्षक तथा कर्मचारीलाई प्रभावित भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी गरिएको सूचनामा २०८१ साउन १ गतेदेखि हालसम्म नियुक्त भएका सबै कर्मचारीको नियुक्ति बदर गरी कामकाजमा नलगाउन सम्बन्धित शाखा प्रमुख, वडा सचिव, पोखरिया प्रादेशिक अस्पतालका प्रमुख, स्वास्थ्य संस्था प्रमुख र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिइएको छ।
उक्त सूचनामा भनिएको छ, “यस्ता कुनै पनि कर्मचारीलाई कामकाजमा खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने व्यहोरा समेत जानकारी साथ अनुरोध छ।“
यो निर्णयसँगै पोखरिया नगरपालिकाभित्र कार्यरत धेरै कर्मचारीको रोजगारी गुमेको छ। यसले नगरपालिकाको दैनिक कामकाज र सेवा प्रवाहमा समेत असर पर्न सक्ने देखिएको छ।















