२३ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानले वितरण गरेको खानेपानी पाइपलाइन वा बोरिङमा सोझै मोटर जडान गरी पानी तान्ने कार्य रोक्न निर्देशन दिएको छ। महानगरपालिकाले यस्ता अनधिकृत गतिविधिबारे धेरै गुनासो आएको र यसले अन्य उपभोक्तालाई खानेपानीको अभाव भई दैनिक जीवनमा समस्या भएको जनाएको छ।
महानगरपालिकाले जारी गरेको ’अत्यन्त जरुरी सूचना’ मा भनिएको छ, “यस किसिमको कार्यले अन्य सेवाग्राहीहरूमा खानेपानीको अभाव सिर्जना भई दैनिक जीवन प्रभावित भएको हुँदा यस्ता कार्य नगर्न÷नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।“
यदि कसैले यस्तो कार्य गरेको भेटिएमा नियमानुसार कारबाही हुने चेतावनी पनि सूचनामा उल्लेख छ। यो कदम वीरगञ्जमा खानेपानीको समान र व्यवस्थित वितरण सुनिश्चित गर्न चालिएको बताइएको छ।

















