२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणको आवरणमा केही व्यक्तिहरू नेपाल नफर्किएको विषयमा उच्चस्तरीय छानबिनको माग गरेकी छन्।
उनले यस विषयमा सरकार गम्भीर नभएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कारसमेत गरिन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले स्वयं प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू आइरहेको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी छन् ।
गौतमले भिजिट भिसाको दुरुपयोग र यसको अनुसन्धानका लागि सरकारले स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाइन्। उनले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने आफ्नो माग सम्बोधन नभएको भन्दै विरोधस्वरूप संसद् बहिष्कार गरेको स्पष्ट पारिन्। फरक प्रसंगमा, उनले हालैको बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि पनि सरकारको ध्यानाकर्षण गराइन्।

















