२४ असार, वीरगञ्ज । वीरगंजवासी अहिले जीवनका आधारभूत आवश्यकतासँग जुधिरहेका छन् । चापाकल सुक्दै गएपछि एक गिलास पानीको खोजीमा दिन बिताउनुपर्ने अवस्था आएको छ । खाना पकाउनेदेखि सरसफाइसम्मको काम प्रभावित हुँदा नागरिकको दैनिकी अस्तव्यस्त बनेको छ ।
बर्सेनि ओरालो लाग्दै गएको भू–जल सतहले यसपटक कहालीलाग्दो रूप लिएको छ । अत्यधिक दोहन, अनियन्त्रित बोरिङ, वर्षा अभाव र सतही जल स्रोतको अभावले गर्दा चापाकलहरू ठप्प छन् । घरको भान्सादेखि बगैँचासम्म सुक्खा छ । कतिपय स्थानमा त एक गाग्री पानीका लागि घण्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।
यो संकटले वीरगंजलाई एउटा गम्भीर पाठ सिकाएको छ—पानीको स्रोत सीमित छ, र त्यसको दुरुपयोगको नतिजा अत्यन्तै पीडादायक हुन्छ । चापाकलमा भर परेर जीवन बिताउँदै आएका नगरवासीले यस्तो संकटको सामना गर्नुपर्ला भन्ने अनुमान समेत गरेनन् । जसको परिणाम अहिले भोगी रहेका छन् ।
विकासको नाममा कंक्रिट ढलान र पिच घरको आँगनसम्म मात्रै होईन सके र पाएँसम्म भित्र भन्सासम्मै गराउन पाए हुन्थ्यो भन्ने प्रवृत्ति र मानसिकताको उपच नै अहिलेको पानीको संकट हो । आजभन्दा बर्षौ अघि नेपाल सरकारले स्वच्छ खानेपानीको लागि ठाउँ ठाउँमा ओभरहेड टंकीको निर्माण गरेर खानेपानीको आपूर्ति व्यावस्था मिलाएको थियो ।
तर, मान्छे बरु २५ रुपैंयाको एक बोतल मिनरवाटर किनेर पिउँथे । महिनामा २५ रुपैंया पानीको महशुल बुझाउन दाँतबाट पसिना चुहाउने गर्थे । अहिले पनि खानेपानी संस्थानको वीरगञ्ज शाखाको पानीटंकीबाट २० हजार घरधुरीलाई सहजै पानी आपूर्ति गर्न सकिने कार्यालयका प्राविधिक प्रमुख सञ्जिव यादव बताउछन् ।
तर, केही व्यक्तिहरुले मोटरको प्रयोग गरेर पानी तानिदिने गर्दा अन्य उपभोत्ताहरुको पानी आपूर्तिमा अवरोध सृजना भएको छ । यस्तो गतिविधिको जानकारी पाएपछि वीरगन्ज महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर खानेपानी जडान गरिएको धारामा मोटर जडान गरेर पानी नतान्न सचेत गराएको छ ।
वीरगन्जका वडा नम्बर ११ श्रीपुर, वडा नम्बर १२ को मुरली, वडा नम्बर १५ को भिस्वा, वडा नम्बर ९ को अशोकवाटिका, वडा नम्बर २ र ३ छप्कैया, वडा नम्बर १६ को नगवा लगायतका क्षेत्रहरुमा चापाकलमा पानी सुकेको महिनौ भयो । खानेपानीको अभाव हुन थालेपछि सरकारी धारा जडान गर्ने ग्राहकको संख्या व्यापक बढेको छ ।
अहिले धारा जडान गर्ने पालो पनि महिनौ कुर्नु परेको ग्राहकको गुनासो छ । पहिले बेवास्ता गर्ने र अहिले संकटमा छिटो धारा जडान गरिदिन ग्राहकले दिने दबावले खानेपानी संस्थाका कर्मचारीहरुलाई थप तनाव बढेको प्राविधिक प्रमुख बताउछन् ।
















