Logo

२५ असार, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–३ मा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा इन्स्पेक्टर सागर पौडेलका अनुसार, आज दिउँसो खसेको पहिरोले पुरिएर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो । उनका करिब १३ वर्षीय छोरा सरोज भने बेपत्ता छन् । बुबाछोरा दिउँसो १२ बजेतिर घर नजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बेला पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ। पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ पनि बगाएको छ, जसमा एक हल गोरु बगेका छन् ।

बेपत्ता बालकको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । गएराति १० बजेदेखिको अविरल वर्षाका कारण जिल्लामा पहिरो खसेको पौडेलले बताए। मनसुन सक्रिय भएसँगै म्याग्दीमा बाढीपहिरोका घटनाहरू बढेका छन् ।बुधबार नै म्याग्दीको धौलागिरिमा पनि पहिरो खस्दा झन्डै १० मिनेटसम्म म्याग्दी नदी थुनिएको थियो ।


सम्बन्धित समाचार