२६ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको शीघ्र राफसाफ गर्न बीमा कम्पनीहरूलाई कडा निर्देशन दिएको छ।
मंगलबारको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरी हरेक बिहीबार प्राधिकरणलाई अद्यावधिक गराउनसमेत भनिएको छ। रसुवाको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। उक्त बाढीमा परी ९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन्। सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ।
भौतिकतर्फ, रसुवा भन्सार कार्यालय यार्ड र ईभी चार्जिङ स्टेसनमा व्यापक क्षति पुगेको छ। रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाको तथ्यांकअनुसार, ३५ युनिट विद्युतीय गाडी (ईभी) र सामानसहित २३ युनिट कन्टेनर ट्रक बगेको पुष्टि भएको छ। यसैगरी, ६ वटा सिनो ट्रक पनि बाढीले बगाएको छ। आयात(निर्यात व्यवसायीहरूले भन्सारमा पार्क गरिएका विद्युतीय गाडी बगेको भन्दै क्षतिपूर्तिको दाबी गरिरहेका छन्।
प्राधिकरणको निर्देशन र सरोकार
बीमा प्राधिकरणले बाढीबाट भएको क्षतिमा बीमा क्षेत्रले कभर गर्नुपर्ने यकिन रकम अझै निर्धारण नभएको बताएको छ। यद्यपि, बाढी पीडितबाट आएका दाबीहरूलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिइएको छ। वर्षा तथा बाढी(पहिरोका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै यो निर्देशन दिइएको प्राधिकरणले स्पष्ट पारेको छ।
साथै, प्राधिकरणले बाढीका कारण भएका क्षतिको साप्ताहिक रूपमा तथ्यांक पेस गर्न पनि बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। यसबाट क्षतिको यथार्थ अवस्था र दाबी फर्छ्योटको प्रगतिबारे नियमित जानकारी प्राप्त हुनेछ।















