Logo

२९ असार,चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउन सक्ने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ। स्विट्जरल्याण्डको कम्पनी ‘रोश’ द्वारा निर्मित यो मेसिनको प्रयोगसँगै अब क्यान्सर परीक्षणका लागि बिरामीको नमूना (टिस्यु) भारत वा अन्य देशमा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण गर्न सहज भएको छ। उनले भने, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ। अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ।“

यसअघि परीक्षणका लागि नमूना भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेजस्ता समस्या थिए। अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ। “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ,“ उनले भने। यो सेवा सुरु भएपछि अब नेपालमै ’टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ।

डा. पौडेलका अनुसार यो मेसिन विशेषगरी टिस्यु (मासुको नमूना)मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन प्रयोग गरिन्छ। यसले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ।

क्यान्सरको केवल पुष्टि भएर मात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ। यसले केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भन्नेजस्ता महत्त्वपूर्ण जानकारी प्रदान गर्छ। डा. पौडेलले अस्पताल आफैँले यो मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको जानकारी दिए।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले यो प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी तथा आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए। अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा. पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार