
६ असोज, वीरगञ्ज ।
एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले सक्रिय राजनीतिबाट सन्यास लिने बताएका छन् । केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए ।
लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए । निर्वाचन स्वच्छ र मर्यादीत हुन नसक्ने अवस्था देखिएको छ श्रीवास्तवले भने ‘चुनाव जित्न पैसाको खोलो वगाउनु पर्छ यस्तो निर्वाचनमा भाग लिनुको औचित्य हुदैन ’।
‘राजनीतिमा नयाँ युथहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने कुरा पनि त भएन नि’, उनले भने ‘त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु । सक्रिय राजनीतिमा लाग्नु भन्दा बरु सामाजिक काममा लाग्छु । ’
५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, एक पटक सांसद र एकपटक मन्त्री समेत भइसकेका छन् । वीरगजका जनताले श्रीवास्तवलाई विकास प्रेमी नेताको रुपमा लिदै आएका छन । उनी वीरगञ्जको मेयर भएको समयमा विकास निर्माणको क्षेत्रमा जनतालाई अनुभूति हुने गरी काम गरेका थिए ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एकपटक मेयर बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि राप्रपामा सक्रिय श्रीवास्तव गणतन्त्र आएपछि भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा गएका थिए ।
उनले तमलोपाबाटै संविधानसभा सदस्यमा चुनाव जितेका थिए । तमलोपा सहितको मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी बनेपछि उनी त्यसैमा सक्रिय थिए । तर २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा उठे । तर उनी पराजित भए ।
चुनावमा होमिनका लागि जुनसुकै तरिका अपनाउन सक्ने व्यक्तिको रुपमा परिचत उनी मेयरमा पराजित भएपनि रोकिएनन् । तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरेर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडे । मेयरमा पराजित भएका उनी प्रतिनिधि सभा सदस्यमा भने विजयी भए ।
उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली नेतृत्व सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बने । स्थानीय निर्वाचनमा वीरगञ्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरेका श्रीवास्तव हाल लोसपामा नै छन् ।