Logo

८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी’ को संज्ञा दिँदै संसदमा कडा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर ‘झुटको खेती’ गर्ने, ‘आँपलाई इमली भन्ने’ र ‘समाजलाई विनाशतिर धकेल्ने’ कुरा कदापि स्वीकार्य नहुने बताए। साहले प्रधानमन्त्रीका गलत अभिव्यक्तिलाई सच्याउनका लागि सभामुखबाटै रुलिङ हुनुपर्ने माग गरेका छन्।

रामु र आदिवासी जनजातिको मुद्दामा प्रश्न

सांसद साहले प्रधानमन्त्री ओलीले पटकपटक भगवान् राम नेपालमा, चितवनमा जन्मेको भन्दै दिएका अभिव्यक्तिका विषयमा आपत्ति जनाए। उनले प्रश्न गरे,‘नेपालको भूभागका असली वारिस आदिवासी जनजाति हुन् कि क्षेत्री बाहुन’ उनले रामायणलाई क्षेत्री बाहुनको पुरानो कथा भन्दै, यदि क्षेत्री बाहुन यहाँका वारिस हुन् भने थारुहरू के हुन् भनी सोधे।

‘के चितवनका आदिवासी थारु होइनन्? के चतराका आदिवासी किराती होइनन्? यदि किराती नै आदिवासी हुन् भने क्षेत्री बाहुनको कुरा यहाँ घुसाएर के भन्न खोज्नुभएको छ हामी जान्न चाहन्छौँ,’ साहले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाए, ‘राजनीतिक स्टन्टको लागि जे पनि गर्ने झुटको खेती प्रधानमन्त्रीजस्तो लेभलले गर्न मिल्छ कि मिल्दैन?’

इतिहासको छेडछाड र आदिवासीको अस्तित्वमाथि प्रहार

सांसद साहले नेपाल कहिल्यै गुलाम नभएको र यसको एक मात्र कारण यहाँका आदिवासी जनजातिहरू मूल बासिन्दा हुनु रहेको दाबी गरे। उनले नेपालको एकीकरणअघि पनि सानासाना राज्यहरू रहेको र ती कहिल्यै गुलाम नभएको इतिहास रहेको बताए। यस्तो इतिहासको वास्तविकता उजागर गर्नुको सट्टा प्रधानमन्त्रीले आदिवासी जनजातिको अस्तित्वलाई अस्वीकार गर्ने र इतिहासमा छेडछाड गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए।

‘आदिवासी जनजातिको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र अहिले इतिहासमाथि छेडछाड,’ साहले आक्रोश व्यक्त गरे, ूइतिहासमाथि छेडछाड गरेर नेपालको समाजलाई नेपाललाई कता लान खोजेको भन्ने प्रश्न आउँछ। उनले प्रधानमन्त्रीलाई किरातीको इतिहास खोतल्न सुझाव दिँदै, उनीहरूले यत्रो ठूलो साम्राज्य र चक्रवर्ती राजाहरू आइरहँदा पनि कसरी गुलामी स्वीकारेनन् भनेर बताउनुपर्नेमा जोड दिए।

तथ्य र व्यवहारमा एकरूपताको माग

साहले प्रधानमन्त्रीलाई तथ्यलाई उजागर गर्न र इतिहासको सत्य तथ्य स्थापित गर्नुको सट्टा राजनीतिक स्टन्ट वा निहित स्वार्थका लागि भ्रमको खेती नगर्न विशेष अपिल गरे। उनले यदि प्रधानमन्त्रीले राम नेपालमा जन्मेका हुन् भन्ने कुरामा विश्वास गर्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पुरातात्विकविद् राखेर वार्ता गरी यसलाई स्थापित गर्न आग्रह गरे।

ओलीकै मन्त्रिपरिषद्मा रहँदा आफूले सिता जननीलाई कलेन्डरमा राख्ने प्रयास गर्दा प्रधानमन्त्रीले नै नमानेको स्मरण गर्दै साहले नेताहरूको तथ्य, बोली र व्यवहार एकै हुनुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्रीजस्तो व्यक्तित्वले हावादारी कुरा गर्नुको सट्टा तथ्यमा टेकेर संसदमा छलफल गर्न आउन माग गरे।

 


सम्बन्धित समाचार