९ साउन,सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्र मा इनार र बोरिङबाट निस्कने पानीमा नुहाउनेहरूको भीड लाग्न थालेको छ। यस क्षेत्रमा सप्तकोशी नदीको पानी ’सिपेज’ (भुमिगत रूपमा छिरेर बाहिर निस्कने) भएर आउने र त्यो पानी अत्यन्तै चिसो हुने भएकाले स्थानीय मात्रै नभई आसपासका क्षेत्रबाट पनि सर्वसाधारणहरू नुहाउनका लागि आउने गरेको स्थानीय अरुण मण्डल ले जानकारी दिए ।
स्थानीय रुपेश झा का अनुसार, अहिले दैनिक १०० भन्दा बढी मानिसहरू नुहाउनकै लागि यहाँ आउने गरेका छन्। चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयहरू बताउँछन्।
कोशी कटान क्षेत्रमा लामो तथा छोटो दुरीका सवारीसाधनका चालक र यात्रुहरू समेत नुहाएर थकान मेटाउने गरेका छन्। स्थानीयहरूको भनाइ अनुसार, यस स्थानलाई गर्मी मौसममा व्यवस्थित गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने प्रचुर सम्भावना छ। त्यसका लागि सम्बन्धित निकायले ठोस योजना बनाएर अघि बढ्न आवश्यक रहेको उनीहरूले बताए। यो क्षेत्र गर्मीबाट राहत पाउन चाहनेहरूका लागि एउटा नयाँ र आकर्षक गन्तव्यको रूपमा विकसित हुन सक्ने देखिएको छ।















