प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धानको माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।

सिन्धुली कमलामाईका युवराज पौडेलले ‘सी–००३४९८’ नम्बरमा दर्ता गरेको उजुरीमा राईलाई तीनवटा प्रमुख भ्रष्टाचार प्रकरणमा छानबिन गरी कारबाही गर्न माग गरेका छन् । गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा ‘दूषित कामकारबाहीको सुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको’ र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको’ भन्दै न्यायिक टिप्पणी गरेपछि प्रमुख आयुक्त राई नैतिक संकटमा परेका थिए।

पौडेलको उजुरीका मुख्य बुँदाहरू

वाइडबडी विमान खरिद अनियमितता: अख्तियार प्रमुखको जिम्मेवारीमा रहेका राईमाथि तत्काल पूरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी ‘हदैसम्मको कारबाही’ गर्न माग गरिएको छ।

नेपाल आयल निगमको जग्गा खरिद अनियमितता: जग्गा खरिदको निर्णय गर्दा राई नै तत्कालीन आपूर्ति मन्त्रालयको सचिव र नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष थिए। पौडेलले तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै तामेलीमा राखिएको फाइलमाथि पुनः अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: यस प्रकरणका केही आरोपितहरूले बयानका क्रममा तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएको बताएका थिए। तर, प्रहरीले राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले यस घटनामा पनि छानबिन हुनुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार