Logo

११ साउन,वीरगञ्ज । माहेश्वरी समाज वीरगञ्जका अध्यक्ष प्रकाश बाहेतीको पहल र आर्थिक सहयोगमा पर्सा जिल्लाकी एक अपाङ्गता भएकी महिलाले निःशुल्क कृत्रिम खुट्टा पाएकी छन्। यो मानवीय कार्य रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरमार्फत सम्पन्न भएको हो।

यस सेवामूलक कार्यमा रोटरी क्लब वीरगञ्जले सह–आयोजक तथा स्थानीय संयोजकको भूमिका निर्वाह गरेको थियो। रोटरी क्लब वीरगञ्जका अध्यक्ष रोटेरियन गोपाल खेतानका अनुसार यस अभियानले अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ जीवन प्रदान गर्दै आएको छ। उनले क्लब सदैव समाजसेवामा समर्पित रहेको र भविष्यमा यस अभियानलाई अझ व्यापक बनाउने योजना रहेको बताए।

माहेश्वरी समाज वीरगञ्जको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। कार्यक्रममा माहेश्वरी समाजका सदस्य तथा पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

रोटरी क्लब वीरगञ्जद्वारा सञ्चालित यो कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत १६,५०० रुपैयाँ खर्च हुने जानकारी गराइएको छ।

क्लबका सचिव रोटेरियन राकेश मिश्राले रोटरी क्लब वीरगञ्जको यस प्रयासले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आशाको दियो बाल्नुका साथै सामाजिक समावेशिता र सम्मानजनक जीवनका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार