Logo

१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा हाल पाँचवटा महत्त्वपूर्ण विधेयकहरू दफावार छलफलको क्रममा छन् ।

प्रतिनिधि सभाबाट पारित भएर आएका यी विधेयकहरूमाथि क्रमिक रूपमा छलफल भइरहेको छ। जलस्रोत विधेयकमाथिको छलफल टुङ्ग्याएसँगै समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि छलफल अघि बढाएको छ। आज दिउँसो २ बजे समितिको बैठकमा यही विधेयकमाथि छलफल हुँदैछ।

विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल सकिएलगत्तै प्रतीक्षित नागरिकता ऐन संशोधन विधेयकमाथि समितिले छलफल गर्ने तयारी गरेको छ। नागरिकता विधेयकपछि भने संघीय निजामती सेवा विधेयकले पालो पाउनेछ। यो विधेयक पनि प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा आएको हो। कर्मचारीमा ‘कुलिङ पिरियड’ लगायतका विषयमा विभिन्न संशोधन प्रस्तावहरू समेत परेकाले यसमाथि गहन छलफल हुने अपेक्षा गरिएको छ।
निजामती सेवा विधेयकमाथिको छलफल सकिएपछि पर्यटन विधेयकमाथि दफावार छलफल हुनेछ।

समितिका सभापति तुलसाकुमारी दाहालका अनुसार समितिले प्राप्त विधेयकहरूलाई प्राथमिकताका आधारमा पालैपालो अगाडि बढाउने अभ्यास गर्दै आएको छ। उनले भनिन्, ‘विधेयक पालैपालो अगाडि बढाउने हाम्रो अभ्यास छ। यसअनुसार विधायन समितिमा रहेका विधेयकहरू अगाडि बढ्छन्।’

यसबाहेक, चलचित्र विधेयक पनि विधायन समितिमा आउँदैछ। यो विधेयक २०८२ वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो र यसमाथि सामान्य छलफल मात्र भएको छ। विधायन समितिमा रहेका यी विधेयकहरूले मुलुकको प्रशासन, नागरिकता, विज्ञान प्रविधि र पर्यटन क्षेत्रमा दूरगामी प्रभाव पार्ने भएकाले यिनीहरूको छलफल र निष्कर्षलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित समाचार