१३ साउन,वीरगञ्ज । जलवायु परिवर्तनको असरस्वरूप मधेश प्रदेशमा खडेरी बढ्दै जाँदा सम्भावित खाद्य संकट समाधानका लागि कृषि बालीमा परिवर्तन गर्न विज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौंमा हिजो सम्पन्न ‘जलवायु न्यायसम्बन्धी कार्यक्रम’मा बोल्दै कृषि तथा जलवायु क्षेत्रका विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा आएको चरम उतारचढावले परम्परागत खेती प्रणालीमा गम्भीर असर पारेको भन्दै समयानुकूल बालीको छनोट र खेतीको ढाँचामा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा कृषि विज्ञ डा. कृष्ण पौडेलले मधेश र तराई क्षेत्रका धेरै भूभागमा मनसुनमा धानखेती हुँदै आए पनि पछिल्ला वर्षहरूमा खडेरीका कारण धान उत्पादन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले अब सुक्खा र उच्च तापक्रम सहन सक्ने बालीतर्फ जानु आवश्यक भएको बताउनुभयो।
विषादी प्रयोग र उर्वराशक्ति क्षय
डा. पौडेलले कृषि क्षेत्रमा लामो समयदेखि अत्यधिक विषादी तथा रसायनको प्रयोगका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएको जनाउँदै, यसले उत्पादनमा गिरावट ल्याएको बताए। साथै, खडेरी र असन्तुलित वर्षाको समस्या आकस्मिक नभई जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव भएको भन्दै नीतिगत रूपमा समाधान खोज्न आवश्यक रहेको उल्लेख गरे।
डिप बोरिङ दीर्घकालीन समाधान होइन
सरकारले खडेरी समाधानका लागि डिप बोरिङमार्फत सिँचाइ सुविधा दिने घोषणा गरे पनि त्यसले दीर्घकालीन रूपमा जलस्रोतनेै जोखिम रहेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। उनीहरूले सतही समाधानभन्दा दीर्घकालीन र दिगो रणनीति आवश्यक भएको औंल्याएका छन्।
वातावरणीय असर र सरकारी भूमिका
कार्यक्रममा सहभागी विज्ञहरूले ग्रीनहाउस ग्यासको अत्यधिक उत्सर्जनले तापक्रम बढाएको र त्यसको प्रत्यक्ष असर खडेरी, बाढी, असिनापानीलगायत चरम मौसम घटनामा देखिन थालेको बताए। उनीहरूले सरकारले वातावरणीय संकटलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने माग गरे।
मधेश प्रदेशमा देखा परेको खडेरीको समस्या जलवायु परिवर्तनको चेतावनी मात्र नभई कृषि नीति पुनरावलोकन गर्ने अवसरसमेत हो। विज्ञहरूको सुझावअनुसार अबका दिनमा वातावरणअनुकूल बाली छनोट, माटो संरक्षण, र दीर्घकालीन जल स्रोत व्यवस्थापनतर्फ सरकार र समुदाय दुवैले ध्यान दिन जरुरी छ।

















