Logo

१३ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, श्रीपुर पचगावामा अवस्थित जनस्वास्थ्य प्रयोगशाला (ल्याब)८८को सेवा विगत तीन महिनादेखि पूर्णरूपमा प्रभावित भएको छ। मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आवश्यक परीक्षण कीट नपठाएको कारण प्रयोगशालाको अधिकांश सेवा ठप्प भएको हो।

गत वर्ष स्थापना गरिएको सो ल्याबमा सुरुमा ४२ थरीको परीक्षण हुने व्यवस्था थियो। तर, चालु आर्थिक वर्षको सुरु हुँदैगर्दा बैशाख महिनादेखि आवश्यक कीट नआएपछि हाल केवल पाँच थरी परीक्षण मात्र भइरहेको ल्याबका टेक्निसियन उमाशंकर प्रसादले जानकारी दिए।

निजी ल्याबको सहारा
कीट अभावका कारण सरकारी ल्याबको सेवा बन्द भएपछि बिरामीहरू निजी ल्याबमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन्। ल्याबमा अत्याधुनिक प्रविधि, दक्ष प्राविधिक र पूर्वाधार हुँदाहुँदै कीट अभावले सर्वसाधारण बिरामी मर्कामा परेका छन्।

उक्त ल्याबले सुरुमा सामान्य परीक्षणदेखि दीर्घरोगसम्मको परीक्षण ७५ प्रतिशत सहुलियत दरमा गरिरहेको थियो। यो सुविधा बन्द भएपछि स्थानीय बासिन्दामा असन्तोष बढ्दै गएको छ।

जिम्मेवारी बोक्नेमा दोहोरो आरोप
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले ल्याब प्राविधिकहरूकै कमजोरी देखाउँदै समयमै कीटको माग नआएको बताए।
उनले भने, “असारअघि ल्याबबाट माग आएको भए पालिकाले व्यवस्थापन गर्न सक्थ्यो। अहिले बजेट अभाव र नयाँ आर्थिक वर्षको सुरुआतसँगै खातासमेत पुनः सञ्चालनमा नआएको अवस्था छ।”

तर ल्याब प्राविधिकहरू भने समयमै कीट माग गरिएको दाबी गर्दै आवश्यक समन्वय नहुँदा सेवा प्रभावित भएको जनाउँछन्।

समाधानको अपेक्षा
स्थानीय बासिन्दाले अबको दिनमा ल्याब सेवा नियमित होस् भनेर प्रदेश सरकार र गाउँपालिकाबीच प्रभावकारी समन्वयको माग गरेका छन्। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सेवा लामो समयदेखि बन्द रहँदा स्थानीयमा सरकारी स्वास्थ्य प्रणालीप्रति विश्वास घट्ने खतरा देखिएको छ।


सम्बन्धित समाचार