Logo

१४ साउन, वीरगञ्ज ।  गत आर्थिक वर्षमा नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अनएसेम्बल्ड मोटरसाइकलदेखि क्रेन लहरीसम्मका सवारीसाधन नेपाल भित्रिएका हुन् ।

सवारीसाधनको आयात वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनको दोस्रो प्रमुख स्रोतको रूपमा स्थापित भएको छ। इन्धनबाट चल्ने सवारीसाधनबाट मात्रै रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्र ६ अर्ब ६० करोड मूल्य बराबरका ५० हजार २९१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट वीरगञ्ज भन्सारले ६ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ। त्यसैगरी, दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा बस तथा ट्रकका चेसिस पनि सोही अवधिमा भित्रिएका छन् ।

यस्तै, दुई अर्ब एक करोड मूल्यका ९१२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान नेपाल भित्रिएका छन्। एक अर्ब ३७ करोड बराबरका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर र एक अर्ब ११ करोड मूल्यका ४१७ वटा इन्धनचालित बस पनि सोही समयमा आयात भएका हुन् ।

त्यसैगरी, सो अवधिमा ७१ करोड मूल्यका १३९ वटा कङ्क्रिट मिश्रण लहरी र ७४ करोड रुपैयाँ बराबरका ३१२ वटा ट्रक तथा मिनी ट्रक पनि वीरगञ्ज नाकाबाट भित्रिएका छन्। साथै, ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा पूर्ण मोटरसाइकल समेत आयात भएका छन् ।

यसैबीच, विद्युतीय सवारीसाधनको आयात पनि उल्लेखनीय रह्यो । गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड मूल्यका दुई हजार ३३७ वटा साना–ठूला विद्युतीय सवारी वीरगञ्ज नाका हुँदै नेपाल भित्रिए । विद्युतीय सवारीसाधनबाट मात्र वीरगञ्ज भन्सारले एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


सम्बन्धित समाचार