Logo

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनका प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (बिहीबार) मन्त्रिपरिषद् हेरफेरबारे निर्णायक छलफल हुने भएको छ । पछिल्लो समय सरकार सञ्चालनको एक वर्ष पुगिसकेपछि प्रधानमन्त्री ओलीले कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरूलाई फेर्ने तयारी थालेका छन् ।

सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरू परिवर्तन गर्न अघिल्लो पटक पनि पहल गरेका थिए तर नेपाली कांग्रेसको असहमतिको कारण तत्काल निर्णय गर्न सकेका थिएनन् । ओलीले केही समयअघि कांग्रेस नेतृत्वसँग कमजोर प्रदर्शन गरेका मन्त्रीहरूको विषयमा प्रारम्भिक छलफल गरिसकेका छन् । तर, एमालेभित्रै व्यापक फेरबदलको तयारी भइरहेका बेला कांग्रेस भने सबै मन्त्री फेर्न तयार छैन ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले गृह मन्त्रालयका मन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई यथावत् राख्न चाहेको छ। एमालेतर्फबाट अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको पद पनि सुरक्षित देखिएको छ । छोटो कार्यकाल भएकाले कांग्रेसका शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको पदमा पनि तत्काल फेरबदल नहुने जनाइएको छ ।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले केही दिनअघि मात्रै आफ्ना पार्टीका श्रममन्त्री शरदसिंह भण्डारीलाई हटाउन सरकारलाई औपचारिक पत्र पठाएका छन्। यसले सत्तारूढ गठबन्धनभित्र मन्त्री हेरफेरको प्रक्रिया तीव्र हुँदै गएको संकेत गरेको छ ।

आजको भेटवार्तामा दुबै नेताबीच मन्त्रालय बाँडफाँड, आगामी रणनीति र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार