Logo

१७ साउन, वीरगञ्ज । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरूमध्ये पछिल्लो १५ दिनमा २० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । साउनको सुरुयता गरिएको ७९८ जनाको परीक्षणमा १४ जना चितवनका र ६ जना जिल्लाबाहिरका बिरामीमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार हालको मौसमी अवस्था लामखुट्टेको प्रजननका लागि अनुकूल रहेको र साउनदेखि असोजसम्म डेङ्गीको संक्रमणको जोखिम अत्यधिक हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, स्क्रब टाइफसका बिरामीहरू पनि चितवनमा बढेका छन् । पछिल्लो समय चितवनका अस्पतालहरूमा उपचार गराइरहेका ३२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। तीमध्ये २३ जना चितवनका र ९ जना जिल्लाबाहिरका हुन् ।

स्क्रब टाइफस मुसामा पाइने ‘माइट’ नामक किराको टोकाइबाट सर्ने सरुवा रोग हो। माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल र घर वरिपरिको फोहोर क्षेत्रमा पाइन्छ ।

जनस्वास्थ्य कार्यालयले यस्ता संक्रमणबाट जोगिन घर वरिपरिको सरसफाइ राख्न, शरीर पूरै ढाकिने कपडा लगाउन र आवश्यक परेमा चिकित्सकको सल्लाह लिन सुझाव दिएको छ ।


सम्बन्धित समाचार