Logo

१७ साउन, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा लम्पी स्किन रोग फैलिँदै गएपछि संक्रमित पशुहरूको रगतको नमुना सङ्कलन गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको विशेष पहलमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरबाट आएको प्राविधिक टोलीले शुक्रबार वडा नम्बर ४ मा रोगबाट प्रभावित पशुहरूको रगतको नमुना लिएको हो ।

टोलीको नेतृत्व पशु चिकित्सक डा. राकेश कुमार साहले गरेका थिए । परीक्षणका लागि सङ्कलन गरिएका नमुनालाई जनकपुरस्थित प्रयोगशालामा पठाइएको छ। परीक्षणपछि रोगको अवस्थाबारे थप यथार्थ जानकारी प्राप्त हुने रुपनी गाउँपालिकाका पशु विकास शाखा प्रमुख हरिगवन साहले जानकारी दिए ।

गत दुई सातायता वडा नम्बर ४ को भथौल टोलमा लम्पी स्किन रोगका कारण ब्रहम्देव यादव, भुवनेश्वर साह र गंगाराम मडरका गरी तीन वटा पशुको मृत्यु भइसकेको छ । गाउँपालिकाभित्र हालसम्म वडा नम्बर १ मा १, वडा ३ मा ७, वडा ४ मा २५, वडा ५ मा ७ र वडा ६ मा ४ वटा गरी जम्मा ४४ वटा गाई, गोरु र बाछाबाछीमा रोगको सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले खटाएको प्राविधिक टोलीले सङ्क्रमण देखिएका टोलबस्तीहरूमा पुगेर उपचारका साथै निरोगी पशुहरूमा लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाउने अभियान अघि बढाएको छ । स्थानीय कृषकहरूलाई सतर्क रहन र पशुहरूमा लक्षण देखिए तुरुन्त नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ ।


सम्बन्धित समाचार