Logo

१८ साउन, पर्वत । लगातारको अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा परेको भारी वर्षाले नदीको सतह तीव्र गतिमा बढ्दै गएको हो ।

कालीगण्डकी नदीका गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार, आज बिहान नदीको सतह सतहदेखि ६ मिटर ४० सेन्टिमिटरसम्म पुगेको छ, जुन यस वर्षको अहिलेसम्मकै सबैभन्दा उच्च मापन हो । बिहान केही समयका लागि बहाब ७.४० मिटरको बिन्दुसम्म पुगेको पनि उनले जानकारी दिए । यद्यपि वर्षा रोकिएकोले बहाब केही घट्ने सम्भावना रहेको बताइएको छ ।

नदीको सतह बढेसँगै पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको तटीय बस्तीहरू उच्च जोखिममा परेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीबेणी, फलेवासको जैमिनीघाट तथा विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा छन् ।

नदीको उर्लदो बहाबले स्याङ्जा, गुल्मी र पर्वतको सिमानामा अवस्थित विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला समेत डुबानमा परेको छ । तिलक पराजुलीका अनुसार शिला संरक्षणका लागि निर्माण गरिएका तटबन्ध र ग्याबियन समेत बगाएपछि शालिग्राम क्षेत्रमा रहेका पूजास्थल र संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

शालिग्राम क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरू चिन्तित छन् भने भक्तजनका लागि जाने बाटो समेत अवरुद्ध भएको छ। “पवित्र शिला मात्र होइन, दर्शनका सम्पूर्ण पूर्वाधार क्षतिग्रस्त भएका छन्,” पराजुलीले बताए ।

यसैबीच, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको जोखिम घट्न सकेको छैन । सेतीखोला र कालीगण्डकी दुबैको बहाब बढेसँगै पर्वतको सेतीवेणीबजार क्षेत्रमा बाढी पस्ने खतरा उच्च देखिएको छ । बजार क्षेत्र र स्याङ्जातर्फका बस्तीहरूमा करिब दुई सय व्यापारी र सर्वसाधारणहरू उच्च जोखिममा छन् ।

१६ वर्षअघि, सन् २००९ (विसं २०६६ असोज २१) मा यही क्षेत्रमा आएको बाढीले तीन दर्जन परिवार विस्थापित भएका थिए। सोही त्रास अझै मेटिन नसकेको स्थानीय व्यवसायी विष्णु न्यौपाने बताउँछन्। “विश्वकै ठूलो शालिग्राम शिला डुबिसकेको छ, तर अहिले बजार क्षेत्रमा भने बाढी पुगेको छैन,” उनले भने ।

सरकार र स्थानीय प्रशासनलाई समयमै सावधानी अपनाई सम्भावित क्षति न्यूनीकरण गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार