Logo

१९ साउन, वीरगञ्ज । मधेश प्रदेशमा लामो खडेरीपछि परेको वर्षाले किसानहरूको अनुहारमा पुनः मुस्कान फर्काएको छ । शनिबार साँझदेखि लगातार परेको झरीका कारण सुक्खा परेका खेतहरूमा हिलो जम्न थालेको छ, जसले गर्दा धान रोपाइँको काम तिव्र रूपमा अगाडि बढ्न थालेको हो ।

पर्सा, बारा, रौतहटदेखि मिथिलाको ढल्केबरसम्मका किसान अहिले खेतमै व्यस्त छन् । वर्षाका कारण गर्मीबाट राहत मिल्नुका साथै बालीमा नयाँ जीवन फर्किएको देखिएको छ ।

पर्सागढी नगरपालिका–३ का किसान नन्दलाल चौधरी भन्छन्, “लामो खडेरीका कारण खेत चिरा-चिरा परेका थिए, बिरुवा सुक्न थालेका थिए र किरा रोगको जोखिम पनि बढेको थियो। अहिलेको वर्षाले खेतमा हिलो बनेको छ, बिरुवा पनि जोगिएका छन् ।”

उनका अनुसार बाइस दिनअघि रोपिएको धानमा युरिया मल हाल्ने समयमै वर्षा भएकोले मलको प्रभाव पनि राम्रो देखिएको छ।

त्यस्तै, हरि महतोका अनुसार शनिबार रातिदेखि परेको झरिले अत्यधिक गर्मीबाट हैरान भएका सर्वसाधारणलाई राहत मिलेको छ। साथै, तरकारी र धान खेतीमा संलग्न किसानहरू पनि खुसी देखिएका छन् ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो भन्छन्, “असारमा पानी नपर्दा खेती मरझार भएको थियो। केही किसानले डिप बोरिङ गरेर रोपाइँ त गरे, तर बिरुवा टिक्न सकेन । अहिलेको झरीले खेतीमा फेरि ज्यान फर्किएको छ।”

ढल्केबरका कृषक रामएकवाल यादवले भने, “जेठको पहिलो सातापछि पानी नपरेपछि रोपाइँ रोकिएको थियो। अहिले भने खेतमा जहाँ हेरे पनि किसानहरू रोपाइँमै खटिएका छन्।”

लामो खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त घोषणा गरेको थियो भने संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्रको सूचीमा राखेको थियो। तर हालको वर्षाले संकट टर्ने आशा जगाएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेश प्रदेशका सबै जिल्लामा पर्याप्त वर्षा भएको छ। “असारदेखि पानी नपर्दा बेर्ना सुक्न थालेका थिए, अहिलेको झरिले ती सबैलाई बचाउनेछ,” उनले बताए ।

कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार, मधेश प्रदेशमा कूल ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने क्षेत्रफल रहेको छ। साउन १६ गतेसम्म २ लाख १३ हजार ४३८ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन कुल क्षेत्रफलको ५७ प्रतिशत हो ।

सचिव दाहालका अनुसार वर्षा निरन्तर रहेमा बाँकी खेतमा पनि चाँडै रोपाइँ सम्पन्न हुनेछ । उनले भने, “ढिलो भए पनि यो वर्षाले किसानलाई ठूलो राहत दिएको छ। खेतमा हरियाली फर्कने संकेत देखिएको छ ।”


सम्बन्धित समाचार