१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (एनजी) भएका छन्।
गत ११ वैशाखदेखि सुरु हुने तालिका रहेको परीक्षा शिक्षक आन्दोलनका कारण ढिला भएर २१ वैशाखदेखि सुरु भएको थियो। देशभरिबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
नतिजा सार्वजनिक गर्दै बोर्डले ननग्रेड हुनेको उच्च प्रतिशतले चिन्ता व्यक्त गरेको छ। यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको उत्तीर्ण प्रतिशत केही सुधार भएको देखिन्छ।
बोर्डले नतिजा सार्वजनिक गरेसँगै विद्यार्थीहरू वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।















