Logo

२१ साउन, वीरगञ्ज।वातावरणीय सन्तुलन कायम राख्ने र सहरलाई हरियाली बनाउने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिकाले “एक घर, एक बिरुवा” अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत आज घण्टाघर चोकमा एक कार्यक्रम आयोजना गरी ५ हजार फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ।

महानगरका मेयर राजेशमान सिंहले आफैँ कार्यक्रममा सहभागी भई स्थानीयवासीहरूलाई बिरुवा वितरण गरेका थिए। यस अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन मेयर स्वयं अग्रसर भएका हुन्। मेयर सिंहले भने, “हामीलाई सहरी विकाससँगै हरित विकासको पनि उत्तिकै खाँचो छ। हरियालीले सहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरमा एक बिरुवा रोप्न सके वातावरणीय सन्तुलनमा ठूलो योगदान पुग्छ।”

महानगरपालिकाको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार, यस अभियानको पहिलो चरणमा ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, जसको सुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो। वितरण गरिएका बिरुवाहरूमा आँप, लिची, कागती, अनार, अम्बा र बेल लगायतका फलफूलका प्रजातिहरू छन्।

महानगरपालिकाले सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल र इच्छुक घरधुरीहरूलाई लक्षित गरी बिरुवा उपलब्ध गराएको छ। स्थानीयवासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन्।


सम्बन्धित समाचार