Logo

२२ साउन, वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार हामीले नियमित प्रयोग गर्ने विभिन्न खाद्यवस्तु र पिउने पानी पनि स्वास्थ्यका लागि हानिकारक पाइएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा गरिएको विश्लेषणमा, कुल १७३ वटा खाद्यवस्तुहरू मापदण्डविपरीत पाइएका छन् ।

प्रतिवेदनअनुसार, सबैभन्दा बढी खाद्यान्न र दलहनसँग सम्बन्धित ८८७ वटा नमुनामध्ये ५२ वटा हानिकारक भेटिएका छन् । त्यसैगरी, ३५१ वटा तेल र घिउका नमुनामध्ये ३८ वटा, १६७ वटा प्रशोधित खानेपानीका नमुनामध्ये १६ वटा, र १०८ वटा दुग्धजन्य पदार्थका नमुनामध्ये १३ वटा अयोग्य पाइएका छन् ।

स्वास्थ्यका लागि हानिकारक पाइएका १८३ वटा खाद्यवस्तुविरुद्ध मुद्दा दायर गरिएको छ । यी मुद्दामध्ये सबैभन्दा बढी तेल र घिउका ४७ वटा र खाद्यान्न तथा दलहनका ४६ वटा रहेका छन् । प्रशोधित खानेपानीका २३ वटा र दुग्धजन्य पदार्थका १० वटा मुद्दा पनि दायर गरिएको छ ।

यी मुद्दामध्ये धेरैजसो न्यून गुणस्तर, ऐनविपरीत र दूषितजस्ता कारणले दायर भएका हुन् । सबैभन्दा बढी ४३ वटा मुद्दा पर्सा जिल्लामा र सबैभन्दा कम कपिलवस्तु र दाङमा एक/एक वटा मुद्दा दर्ता भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस्ता गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न अनुगमनलाई अझै प्रभावकारी बनाउन विभागलाई निर्देशन दिएका छन् ।

उनले मोबाइल भ्यान र प्रयोगशालाहरूको उचित प्रयोग गरी यसको नतिजा जनताले महसुस गर्ने गरी काम गर्न पनि आग्रह गरेका छन् । विभागले नमुना ल्याउनेबाहेकका सबै कार्यहरू अनलाइन प्रणालीबाट सुरु गरिसकेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार