२२ साउन,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका र वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक सम्झौता सम्पन्न भएको छ।
गाउँपालिकाले आफ्ना नागरिकलाई सहज र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल कलेजसँग सम्झौता गरेको हो। सम्झौता अनुसार जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले अब नेशनल मेडिकल कलेजमा विभिन्न उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।
सम्झौतापत्रमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार उपलब्ध हुने छुट यस प्रकार छन्:
- ओपीडी टिकटमा: २५ प्रतिशत छुट
- जेनरल बेड चार्जमा: १५ प्रतिशत छुट
- आइसीयू, एनआईसीयू र पीआईसीयू बेड चार्जमा: १६ प्रतिशत छुट
- सर्जरी (मेजर/माइनर) मा: ८ प्रतिशत छुट
- प्याथोलोजी परीक्षणमा: १० प्रतिशत छुट
- भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, एन्डोस्कोपी, टीएमटी, सिटी स्क्यान, एमआरआईमा: ७ प्रतिशत छुट
- फार्मेसीमा: १० देखि १५ प्रतिशत छुट
- दन्त सेवामा: ७ प्रतिशत छुट
गाउँपालिका अध्यक्ष यादवले सम्झौतापछि भने,
“हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”
यस सहकार्यबाट जगरनाथपुर गाउँपालिकाका हजारौं नागरिकले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

















