२२ साउन,सेढवा । सात दिनको लामो पैदल यात्रापछि आज साउन महिनाको त्रयोदशीका दिन जिराभवानी मन्दिरमा कावरियाहरूले जल चढाएका छन्। बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा परासी जिल्लास्थित पवित्र नारायणी नदीबाट जल भरेर उनीहरूले यो यात्रा पूरा गरेका हुन्।
करिब सात सय जना कावरियाहरूको समूह साउन १५ गते यात्राका लागि प्रस्थान गरेको थियो। संघका सदस्य बैजनाथ दास थारुका अनुसार, उनीहरूले नारायणी नदीबाट जल भरेर भारतीय बाटो हुँदै कठिन पैदल यात्रा गरी आज जिराभवानी मन्दिर पुगेका थिए। यस यात्रामा जिराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाका नागरिकहरूको सहभागिता रहेको थियो। साथै, भारतको भंगहा, रामपुर, सिसवा, बेहतरी, धुमाटाड र जसौलीजस्ता गाउँका नागरिकहरू पनि सहभागी थिए।
कावरियाहरूको स्वागतका लागि प्रदेश सांसद शंकर प्रसाद चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र उपाध्यक्ष रेखा चौधरी मन्दिर परिसरमा पुगेका थिए। गाउँपालिकाले कावरियाहरूका लागि खाजा, खानेपानी, स्वास्थ्य परीक्षण र औषधोपचारको व्यवस्था मिलाएको थियो। मन्दिरमा शान्तिपूर्ण रूपमा पूजापाठ र जल अर्पणको कार्य सम्पन्न गर्न सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको थियो।















