Logo

२२ साउन,मोरङ । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा बिहीबार बिहान एक अनौठो दृश्य देखिएको छ। स्थानीय महिलाहरूको समूहले निर्माणाधीन हुलाकी सडक खण्डको अवस्था प्रति आक्रोश जनाउँदै सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्।

सडकमा धान रोपिएको दृश्यले वरपरका नागरिकहरू अचम्मित बनेका थिए। खेतजस्तो देखिने सडकमा महिलाहरूले धान रोपेर सडकमै कुर्सी राखेर बस्न थालेपछि यो खबर छरितो रूपमा फैलिएको हो। प्रदर्शनमा सहभागी महिलाहरूको भनाइमा, वर्षा सुरु भएयता सडक हिलो र पानीको दलदलमा परिणत भएपछि पैदल हिँड्न समेत कठिन भएको छ।

स्थानीय पत्रकार पदम सरदारका अनुसार, “सवारी साधन चिप्लिएर दुर्घटनाको जोखिम बढेको छ, बालबालिका स्कुल जान सक्दैनन्, स्थानीयहरू दैनिक दुःख पाउँछन्, तर सम्बन्धित निकाय मौन छ।“ यसकारण महिलाहरूले विवश भएर यस्तो अनौठो तर प्रभावकारी विरोधको माध्यम अपनाएको उनी बताउँछन्।

विराटनगरदेखि कटहरी चोक हुँदै रंगेलीसम्म जाने हुलाकी सडक खण्ड लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र छ। विशेष गरी धनपालथानको कदमाहा क्षेत्रदेखि रामचोकसम्मको लगभग ८ किलोमिटर सडक खण्ड अत्यन्तै खराव अवस्थामा रहेको छ। यस सडकमार्गलाई विराटनगर हुँदै झापा जाने छोटो मार्गका रूपमा लिइन्छ, तर अव्यवस्थित अवस्थाले यात्रुहरूलाई हैरान बनाएको छ।

स्थानीयहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएपछि यो कदम चालिएको हो। प्रदर्शनमा सहभागी महिलाहरूले चेतावनी दिँदै भनेका छन्, “यदि चाँडै सुधार नभए थप सशक्त आन्दोलन गरिनेछ।“

उनीहरूले सरकार र सम्बन्धित निकायसँग तत्काल सडक मर्मत तथा निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्। सडकमा धान रोप्ने अनौठो शैलीले अब स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यान आकृष्ट हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार