२३ साउन, वीरगञ्ज । भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि १८ जना नेपाली सम्पर्कविहीन भएका छन् । बेपत्तामध्ये जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना रहेका छन् ।
मङ्गलवार उत्तरकाशी जिल्लाको धराली बजारमा आरिघोप्टे वर्षाका कारण बाढी आएको थियो भने बुधवार पौडी गढवाल क्षेत्रमा पहिरो खसेको थियो। यी घटनामा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरू प्रभावित भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्ति समेत सम्पर्कविहीन भएको उल्लेख छ । गाउँपालिकाले नेपाल सरकार र प्रदेश सरकारमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहलका लागि आग्रह गरेको छ ।
यस्तै, पौडी गढवाल नजिकैको सिन्धु खोला किनारमा बुधवार बिहान खसेको पहिरोमा परी बर्दियाका ५ जना नेपाली बेपत्ता भएका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय पक्षसँग खोज तथा उद्धार कार्यका लागि निरन्तर समन्वय भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ, तर कठिन भूगोलका कारण कार्यमा चुनौती थपिएको छ ।















