२३ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत सरकारको समन्वयमा उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजी तथा उद्धार कार्यका लागि दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।
केही दिनअघि भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको हो। परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएकी हुन् । उक्त घटनाबाट आफू दुःखी भएको बताउँदै उनले भारत सरकारसँगको समन्वयमा तत्काल खोजी कार्य अघि बढाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको उल्लेख गरेकी छन् ।
साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। हालसम्म जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका गरी कम्तीमा २२ जना नेपाली सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।
परराष्ट्रमन्त्री देउवाले बाढीमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरेकी छन्।

















