२५ साउन, ठोरी (पर्सा) । पर्साको ठोरी गाउँपालिका–४, विजयवस्ती नजिकैको गोपीवस्तीमा दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ। वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत गोपीवस्तीबाट दक्षिणतर्फ घाइते अवस्थामा देखिएको बाघ मृत फेला परेको हो ।
निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठका अनुसार, बाघको मृत्यु आपसी लडाइँका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थल वरिपरि जमिन खोतलिएको, रगतको दाग देखिनुका साथै मृत बाघको घाँटीमा अर्को बाघले टोक्दा हुने खालको गहिरो चोट पाइएका छन् ।
आज बिहान खेततर्फ जाँदै गरेका किसानहरूले बाटोमा बाघ लडिरहेको देखेपछि सुरुमा त्रसित हुँदै भागेका थिए। पछि नजिक गएर हेर्दा बाघ मृत भएको पुष्टि भएको हो ।
घटनास्थल पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिक छ । त्यसकारण मृत बाघ त्यही जंगलबाट आएको हुन सक्ने अनुमान छ । लडाइँमा संलग्न अर्को बाघ घाइते भएको हुन सक्ने आशंका अधिकारीहरूले व्यक्त गरेका छन् ।















