काठमाडौं । रामेछापमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
यी दुर्घटनाहरूमा एक ट्याक्टर चालक र एक स्कारपियो गाडीमा सवार महिलाको मृत्यु भएको हो ।
हिजो रामेछापको खाँडादेवी गाउँपालिका–४ मा एउटा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ना ६ त ९५९१ नम्बरको ट्याक्टर दुर्घटनामा परेर २५ वर्षीय दिनेश माझीको ज्यान गएको हो। यसै दुर्घटनामा १५ वर्षीय विवेक माझी घाइते भएका छन्, जसको उपचार अहिले मन्थलीमा भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्कारपियो दुर्घटनामा महिलाको मृत्यु
आज बिहान मन्थली नगरपालिका–६ नजिकै एउटा स्कारपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बिहान सवा ५ बजेतिर भएको यस दुर्घटनामा मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै ज्यान गएको हो। उनी आफ्नो श्रीमान् उत्तम चौहानसँग छोरालाई भेट्न हेटौंडा जाँदै थिइन्।
दुर्घटनामा घाइते भएका उनका श्रीमान्लाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ। गाडी अप्ठ्यारो भिरमा अड्किएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।















