Logo

काठमाडौं । तीजको नाच हेरेर फर्कदै गरेकी दैलेखकी एक १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

यो घटनामा संलग्न भएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। घटना साउन २२ गते राति चामुण्डा बिन्द्रासैनी नगरपालिकामा भएको थियो। बालिका आफ्ना साथीहरूसँग तीजको नाच हेरेर घर फर्किंदै गर्दा गाउँकै दुई युवाले पिछा गरेका थिए। किशोरीहरूको समूह भाग्ने क्रममा ती बालिका लडेपछि उनीहरूले ढुङ्गाले हानेर नियन्त्रणमा लिएका थिए। ढुङ्गा लागेर उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ। त्यसपछि दुवै युवाले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालले जानकारी दिए।

अन्य किशोरीहरूले घरमा खबर गरेपछि अभिभावकहरू घटनास्थल पुगेका थिए। अभिभावक आएको थाहा पाएपछि आरोपितहरू भागेका थिए। पीडित बालिकाको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।

पीडित बालिकाको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा चोट लागेको चिकित्सकहरूले बताएका छन्। उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार