Logo

२५ साउन,ठोरी । सरकारले विभिन्न समयमा गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै ठोरी गाउँपालिकाका राहत शिक्षकहरूले आइतवार गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक समिति, ठोरीका अध्यक्ष रन्जित कार्कीका अनुसार काठमाडौंमा २०८० चैत २० गतेदेखि भएको २९ दिने आन्दोलनका क्रममा राखिएका मागहरू अझै पुरा नभएकोले देशभरका राहत शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।

उनका अनुसार देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ विरोध कार्यक्रम गरिएको छ। “शिक्षा समितिले राहत शिक्षकहरूको स्थायी व्यवस्थापनप्रति चासो नदेखाएकोले हामी बाध्य भएर फेरि सडकमा आएका हौं,” अध्यक्ष कार्कीले बताए।

प्रस्तावित शिक्षा ऐनप्रति आपत्ति
राहत शिक्षकहरूले सरकार र सांसदहरूले प्रस्तावित शिक्षा ऐनमार्फत आफूहरूलाई पेसाबाटै बहिष्कृत गर्ने रणनीति बनाएको आरोप लगाएका छन्। विरोध सभामा सहभागी शिक्षकहरूले प्रस्तावित ऐनले राहत शिक्षकलाई अपमानित गरेको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरे।

विरोध सभामा राहत शिक्षक समिति ठोरीका सदस्यहरू, नेपाल शिक्षक महासंघ ठोरीका उपाध्यक्ष गोपिलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

दैनिक कामकाज प्रभावित नभएको जानकारी
यद्यपि गाउँपालिका कार्यालय अगाडि विरोध सभा गरिएको थियो, त्यसले पालिकाको दैनिक कामकाजमा भने कुनै अवरोध नपारेको अध्यक्ष कार्कीले बताए।

राहत शिक्षकहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थायीकरणको स्पष्ट नीति ल्याउन आग्रह गरेका छन्। आन्दोलन चर्काउने चेतावनी पनि उनीहरूले दिएका छन् यदि माग सम्बोधन नभएमा।


सम्बन्धित समाचार