Logo

२७ साउन, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ र १६ को बिवादित सीमामा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत गरिबको पिडा र अवस्था देखाएर जोखिमयुक्त क्षेत्रमा घर निर्माण भइरहेको पाइएको छ । बालगंगा खोलाको किनारमा १३ वटा घर बिपन्न तथा दलितकोलागि भनेर निर्माणाधीन रहेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने अनुगमन टोलीको यस विषयको प्रतिवेदन अझै नआएको र विस्तृत जानकारीका लागि सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सुझाए । केहि दिन अगाडि बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा पूर्वाधार विकास कार्यालय बारा, डिभिजन बन कार्यालयका प्रमुख, अमिन र अन्य अधिकारीहरूले स्थल निरीक्षण गरेका थिए । तर, केही व्यक्तिहरूको उक्साहटमा निर्माणधीन घरका मालिकहरूले नापजाँच गर्न दिएनन्। सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने हिलो र पानीका कारण नाप गर्न नसकिएको भन्दै वास्तबिकता लुकाउँन खोजे । उनले कानुनअनुसार खोलाको किनारमा घर निर्माण गर्न नमिल्ने बताए । उनले घर निर्माणमा राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट भएका कारण रोक्न नसक्ने दाबी गर्दै, यस विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जान उपयुक्त हुने बताए ।

वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछानेका अनुसार साबिक डुमरवाना फतेपुर गाविस–१(ख) अन्तर्गत सट्टाभर्ना कित्ता नं. ६२ मा पर्ने उक्त नदी किनारको जग्गामा अनुमति नलिई घर निर्माण भइरहेको छ । यता वडा नं.१६ ले निर्माण भईरहेको घर आफनो वडा भित्र पर्ने दाबी गर्दै आएको छ ।उक्त कार्यालयबाट सो घर निर्माण गर्ने सिफारिस आएको थियो । स्थलमा अनुगमन टोली बोलाउँदा गएका वडा अध्यक्ष लामिछानेमाथि प्रहरीको सामु घर निर्माण रोक्न खोजेको भन्दै केहि ब्यक्तिहरु जाईलाग्ने प्रयास गरेका थिए । तर प्रहरी मुखदर्शक बनेको थियो ।

गत वर्ष ठुलो बाढी आएको क्षेत्रमा यसरी निर्माण गरिएका घर सुरक्षित नहुने दाबी गर्दै उनले निर्माण तत्काल रोक्न पूर्वाधार विकास कार्यालयलाई पत्राचार गरेका छन् । पत्रमा मानवीय जीवनमा क्षति र सरकारी बजेटको दुरुपयोग हुने उल्लेख गर्दै, भौतिक संरचना निर्माण तत्काल रोक्न तथा भविष्यमा हुने क्षतिको जिम्मेवारी निर्माण गर्ने निकायले लिनुपर्ने चेतावनी दिइएको छ । उक्त पत्र जिल्ला प्रशासन कार्यालय कलैया, जिल्ला समन्वय समिति बारा र जीतपुरसिमरा उपमहानगरपालिकालाई समेत बोधार्थ पठाइएको छ ।

गत वर्षकै कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयले जीतपुरसिमरामा तीन दर्जन घर निर्माण गरिरहेकोमा तीमध्ये १३ वटा घर बालगंगा खोलाको किनारमा निर्माणाधीन छन् । यसबारेमा पूर्वाधार विकास कार्यालय कलैयाकी निमित्त प्रमुख रिम्पु यादवसँग सम्पर्क गर्ने खोज्दा उनले फोन उठाईनन् ।


सम्बन्धित समाचार
भर्खरै