२७ साउन, काठमाडौं । विद्यार्थी सङ्गठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सरकारसँग सुरक्षाको माग गरेको छ।
पछिल्लो समय क्याम्पसमा विद्यार्थीका आन्दोलन र विरोध प्रदर्शनले अराजकता बढेको भन्दै त्रिवि प्रशासनले सरकारको ध्यानाकर्षण गराएको हो । गत सोमबार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयका रजिस्ट्रार र रेक्टर कार्यालय तोडफोड गरेको थियो। सो क्रममा प्रहरीसँगको झडपमा केही विद्यार्थी घाइते भएका थिए । अखिल क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व, शान्ति र सामाजिक कार्यलगायतका अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिएको विरोधमा शुल्क घटाउनुपर्ने माग राख्दै आएको छ। उनीहरूले गएको २० दिनदेखि त्रिविका उपकुलपति दीपक अर्यालको कार्यकक्षअगाडि धर्ना दिइरहेका छन् ।
यस परिस्थितिका कारण त्रिविका पदाधिकारीहरूले सुरक्षित वातावरणमा काम गर्न नसकेको भन्दै गृह मन्त्रालय र शिक्षा मन्त्रालयलाई सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन्। विश्वविद्यालय प्रशासनले जिल्ला प्रशासन कार्यालयमा समेत यस विषयमा पत्र पठाएको छ। त्रिविले शिक्षाको वातावरण शान्त र सुरक्षित राख्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।















