Logo

२७ साउन,वीरगञ्ज । लामो समयको खडेरी, रासायनिक मलको चरम अभाव र हालैको अनियमित वर्षासँगै पर्सा जिल्लाका किसानहरू धानबालीमा देखिएको बिभिन्न रोगको प्रकोपका कारण गहिरो चिन्तामा परेका छन्। स्थानीय स्तरमा ’सोना मंसुली’ र ’मनी मंसुली’ जातको धानबालीमा लिफ ब्लास्ट, गोबारो, बिरुवाको टुसा सुक्ने जस्ता रोगले बाली पूर्ण रूपमा प्रभावित बनाएको छ।

जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान धर्मराज दासका अनुसार, रोपाइँ गरेको दुई साता नबित्दै बिरुवाको टुसा कुहिने र सुक्ने समस्या देखिन थाल्यो। सुरुमा किटनाशक प्रयोग गरे तापनि, रोगको संक्रमण पुनः देखिएको उनले बताए। “अब त तलको पात सुक्न थालेको छ, टाटापाटा हुँदै पात कुहिन थालेको छ,“ उनले भने। रोग नियन्त्रणका लागि आवश्यक किटनाशक छर्ने कार्यमै किसान हैरान भएका छन्।

सखुवाप्रसौनी गाउँपालिका–१ औराहाका किसान सुरेन्द्र महतो थारुले लिफ ब्लास्टसँगै गोबारो किराको प्रकोप पनि देखिएको बताए। “पातहरू सेता हुँदै सुक्दै गएका छन्,“ उनले भने। गोबारो किराका कारण धानबालीमा व्यापक क्षति हुने संकेत मिलेको छ।

सेढवा निवासी रामजी चौधरी भन्छन्, “यसपाली समयमै पानी नपरेपछि मोटा रकम खर्चेर सिचाइँ गर्नुप¥यो। फेरि डिएपी र युरिया मलको अभाव भयो। महँगो मूल्यमा मल किनेर रोपाइँ त गरियो, अब रोग नियन्त्रण गर्न थप खर्च गर्नुपर्ने अवस्था छ।“

कृषि ज्ञान केन्द्र, पर्साका सूचना अधिकृत उमेश थापाका अनुसार, लामो समयको खडेरीपछि अचानक पानी परेपछि फंगल रोगहरू विशेषगरी लिफ ब्लास्टको प्रकोप बढेको हो। “लिफ ब्लास्ट फंगलजन्य रोग हो, जुन यस्तो मौसममा अत्यन्त सक्रिय हुन्छ,“ उनले भने। उनले थपे, “बजारमा धेरै किसिमका किटनाशक औषधिहरू उपलब्ध छन्। दुई साताको अन्तरमा दुई पटक प्रयोग गरेमा नियन्त्रण सम्भव छ।“

तर, रोग नियन्त्रणमा आवश्यक औषधि खरिद गर्ने आर्थिक क्षमता नभएपछि किसान थप समस्यामा परेका छन्। सरकारी निकाय तथा सम्बन्धित संस्थाहरूबाट तात्कालिक राहत र प्रविधिक सहयोगको माग किसानहरूले गरिरहेका छन्।


सम्बन्धित समाचार