Logo

२८ साउन, वीरगञ्ज । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक गरेको एक घटनाअनुसार, ‘नेप्से एआई’ (NEPSE AI) नामक एउटा एपमार्फत लाखौँ रुपैयाँ ठगी भएको छ । यो घटनाले सामाजिक सञ्जालमा आउने अपरिचित लिङ्क र एपहरूबाट सर्वसाधारण ठूलो जोखिममा रहेको देखाएको छ ।

कसरी हुन्छ ठगी ?

फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर ठगहरूले सर्वसाधारणलाई जालमा पार्ने गरेको प्रहरीले बताएको छ । विशेषगरी, शेयर बजारबाट धेरै नाफा कमाउन सकिने भ्रामक सन्देशसहित ‘नेप्से एआई’ एप डाउनलोड गर्न लगाइन्छ । यो एप इन्स्टल गरेपछि ह्याकरहरूले रिमोट सेशनमार्फत प्रयोगकर्ताको फोनमा पहुँच बनाउँछन् । यसरी पहुँच बनाएपछि उनीहरूले प्रयोगकर्ताको बैंक खाताबाट रकम ट्रान्सफर गर्ने र डिजिटल डिभाइसमा भएका सबै डाटा मेटाएर प्रमाण नष्ट गर्ने गरेको पाइएको छ ।

एक पीडितको कथा

जोन डोइ (सांकेतिक नाम) नामक एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट ‘नेप्से एआई’ एप डाउनलोड गरे । एप इन्स्टल गर्नेबित्तिकै उनको मोबाइल स्क्रिन केही समयका लागि बन्द भयो । यही समयमा उनको बैंक खाताबाट रु २८ लाख ६१ हजार अन्यत्र ट्रान्सफर गरियो । यति मात्र होइन, उनको मोबाइलमा भएका सबै डाटा र एपहरू पनि मेटिए । यो घटनाले ठगीको नयाँ स्वरूप देखिएको र यसबाट बच्न थप सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।

साइबर ब्युरोका सुझावहरू

यस्ता ठगीबाट बच्न नेपाल प्रहरीको साइबर ब्युरोले केही महत्वपूर्ण सुझाव दिएको छ । दोहोरो सुरक्षा कोड (Two factor authentication) वा एसएमएस प्रयोग गरेर सामाजिक सञ्जाललाई सुरक्षित राख्ने, नियमित रूपमा पासवर्ड परिवर्तन गरिरहने, अपरिचित व्यक्तिलाई आफ्नो डिजिटल डिभाइससम्बन्धी कुनै पनि जानकारी नदिने र एपहरू आधिकारिक स्रोत (Official stores) जस्तै गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट मात्र डाउनलोड गर्न साइबर ब्युरोले सुभाव दिएको छ । यदी यस्ता घटना भईहालेमा तुरुन्तै सम्बन्धित बैंक वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाएर मात्र यस्ता ठगीबाट बच्न सकिन्छ । कुनै पनि अपरिचित लिङ्क वा एपमा विश्वास गर्नुअघि त्यसको वैधता राम्ररी जाँच गर्नु जरुरी रहेको विशेषज्ञहरुको भनाई छ ।


सम्बन्धित समाचार