Logo

१७ फागुन,काठमाण्डौ । प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ ।

प्रदेश संसद सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया सुरु भए पछि सम्भावित झडप, जुलुसलगायतका कार्यक्रम गरी अवरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सु्चना जारी गरी प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएको जनाउँदै निषेधाज्ञा जारी गरेका हुन ।

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सुचनामा भनिएको छ ।

दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरहरूले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेश सभा भवन अगाडि, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।


सम्बन्धित समाचार