२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आगामी भदौ १४ गते चीन भ्रमणमा जानुहुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उहाँले चीनमा रहँदा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा भदौ १५ र १६ गते हुने सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुहुनेछ। विश्वका अन्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पनि सहभागिता रहने उक्त सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको यो पहिलो सहभागिता हो ।
एससीओ एक क्षेत्रीय सुरक्षा र आर्थिक संगठन हो, जसको स्थापना सन् २००१ मा भएको थियो। हाल यसमा चीन, काजकस्तान, किर्गिजस्तान, ताजकिस्तान, उज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० देश सदस्य छन् ।
नेपाल सन् २०१६ देखि यस संगठनको सम्वाद साझेदार राष्ट्रको रूपमा रहेको छ। यस सम्मेलनमा मुख्यगरी राजनीति, अर्थतन्त्र र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीको यस भ्रमणले नेपालको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।















