३१ साउन, हेटौंडा । मकवानपुरको भीमफेदीस्थित कारागारमा थुनामा रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। चितवन निवासी ४३ वर्षीय विष्णुप्रसाद दुलालको शनिबार बिहान अचानक बिरामी परेपछि हेटौंडा अस्पताल लैजाँदै गर्दा निधन भएको हो।
कारागारका प्रमुख सुवास पौडेलका अनुसार बिहान करिब ५:४० बजे दुलाललाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। तत्कालै कारागारको स्वास्थ्य टोलीद्वारा प्राथमिक उपचार दिइएपछि केही सुधार देखिए पनि त्यसपछि उनी बाथरूममा नुहाउन गएका बेला एक्कासी लडेका थिए।
“५:५० बजे बाथरूम गएका दुलाल एक मिनेटमै अचेत भए, तत्कालै हामीले अस्पताल लगेका थियौं,” जेलर पौडेलले जानकारी दिए। ६:५५ बजे हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको मृत्युको सटीक कारण अझै खुल्न सकेको छैन, अस्पतालमा पोष्टमार्टम प्रक्रिया अघि बढाइएको छ र त्यसपछि मात्र स्पष्ट जानकारी आउने पौडेलले बताए।
दोषी ठहर भई कैद काटिरहेका थिए
दुलाललाई चितवन जिल्ला अदालतले जर्वजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो। उनी १० माघ २०७८ मा दोषी ठहर भएका थिए र १३ साउन २०७९ मा भीमफेदी कारागार ल्याइएको थियो।
भीमफेदी कारागारमा हाल ५०० जनाभन्दा बढी कैदीबन्दी रहेका छन्। मृतक दुलाल ‘कझ ब्लक’ मा बस्दै आएका थिए। कारागार प्रशासनले हालकै अवस्थालाई आकस्मिक घटना भनेको छ र विस्तृत छानबिनपछि मात्र थप जानकारी दिन सकिने जनाएको छ।
जेलर पौडेलका अनुसार, “हिजो साँझ मात्र हामीले कैदीहरूको स्वास्थ्य अवस्था र समग्र कारागारको अवस्था निरीक्षण गरेका थियौं। सबै सामान्य थियो। तर आज बिहानै यस्तो दुखद घटना भयो।”
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनापछि कारागार प्रशासन सतर्क बनेको छ।















