३१ साउन,वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्ति भवन, छपकैयामा भव्य सत्युगी दुनियाँको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वीरगन्जकी क्षेत्रीय सञ्चालिका एवं बालब्रह्मचारिणी तपस्विनी रबिना दिदीले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता उल्लेखनीय थियो। प्रमुख अतिथिको रूपमा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, विशिष्ट अतिथिको रूपमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, नेपाल रेडक्रस सोसाइटीकी उपाध्यक्ष मधु राणा, माउन्ट आबुबाट आउनुभएका अशोक भाईजी लगायत सञ्चारकर्मीहरूको पनि विशेष उपस्थिति थियो।
कार्यक्रममा बालबालिकाले कृष्ण र राधाको आकर्षक झाँकी प्रस्तुत गरेका थिए। विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई थप उल्लासमय बनाएका थिए।
यस अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका गोकुल भाईजीले आफ्नो प्रवचनमा भगवान् श्रीकृष्णको आदर्श जीवनशैली र उपदेशहरूको महत्त्वबारे प्रकाश पारे। उहाँले भन्नुभयो, “आज हामी सबैले श्रीकृष्णजस्तो सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवन जिउनु आवश्यक छ।”
कार्यक्रमले श्रीकृष्ण जन्माष्टमीलाई धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक वातावरणमा परिणत गरेको थियो। सहभागी अतिथि तथा भक्तजनहरूले यस कार्यक्रमलाई प्रेरणादायी र सकारात्मक ऊर्जा भर्ने कार्यक्रमको रूपमा मूल्याङ्कन गरेका थिए।















