३१ साउन,रौतहट । देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर स्थानीय दुई पक्षबीच झडप हुँदा मेयर प्रेमलाल साहसहित तीनजना घाइते भएका छन्। झडपमा घाइते भएका मेयर साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादवलाई गरुडास्थित निजी अस्पतालमा उपचार भइरहेको छ।
श्रीराम जानकी ब्रह्माबा मठमा मेलाको उद्घाटन गर्ने क्रममा मेयर साह जब मठ परिसर पुगे, त्यहाँ रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा विवाद र त्यसपछि हातापाई भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिनुभयो।
घटना संग सम्बन्धित रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ।
यो झडप स्थानीय राजनीतिक प्रतिद्वन्द्विता र सामाजिक प्रतिष्ठासँग जोडिएको देखिन्छ। मेलाको उद्घाटन गर्ने अधिकारलाई स्थानीय सम्मान र प्रभावसँग जोडिने भएकाले विवाद चर्किएको हो। धार्मिक–सांस्कृतिक उत्सव राजनीतिकरण हुँदै जाँदा मेलाजात्रा कलहको केन्द्र बन्दै गएको छ।
प्रहरी र स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन थप सतर्कता अपनाएका छन्।

















