१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पिप्रापूर्वमा खेतमा थापिएको विद्युतिय धरापमा परेर एक दम्पतीको ज्यान गएको छ। शनिबार राति करिब ८ बजे आफ्नै खेतबाट घर फर्कने क्रममा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
धरमपुर प्रहरी चौकीका अनुसार दम्पती छिमेकी महेन्द्र भनिने बहिदार सरदारले धानबालीमा जंगली जनावर रोक्न राखेको जिआइ तारमा सटिएर करेन्ट लाग्दा मृत्युवरण गरेका हुन्। उक्त क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै भएकाले हात्ती, अर्ना, बँदेलजस्ता वन्यजनावरहरू खेतमा पस्ने भएकाले किसानहरूले विद्युत धराप थाप्ने गरेका छन्। तर यस प्रकारको कार्यले मानव ज्यानको समेत जोखिम बढाएको स्थानीयवासीले बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको जनाएको छ।
घटनाले गाउँभरि शोकको वातावरण बनाएको छ। एकै परिवारका दुई सदस्यको मृत्युपछि पीडित परिवारमा अत्यन्त पीडा थपिएको छ। स्थानीयहरूले अनियन्त्रित ढंगले विद्युत धराप थाप्ने प्रथा तत्काल रोक्न प्रशासनसँग माग गरेका छन्।
यस घटनापछि खेतमा विद्युत धराप जडान गर्ने जग्गाधनी महेन्द्र सरदार र सोही स्थानका दुर्गानन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेख बहादुर बिष्टका अनुसार, “खेतबारीमा विद्युत धराप राख्नु पूर्णतः गैरकानुनी हो र यसले बारम्बार ज्यान जाने खालका दुर्घटना निम्त्याइरहेको छ।”
घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।















