२ भदौ, चितवन । गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ जना बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती बालबालिका १० वर्षदेखि १८ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार उनीहरू आठ फरक–फरक मुद्दामा संलग्न थिए। सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषधमा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राइममा एक जना बालक पक्राउ परेका छन् ।
एसपी पुरीका अनुसार पछिल्ला दिनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । विशेषगरी चोरी र लागुऔषध ओसारपोसारमा उनीहरूलाई प्रलोभनमा पारेर प्रयोग गरिने गरेको पाइएको छ । “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्,” उनले बताए ।
उनका अनुसार चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गरेका छन् । कतिपय अवस्थामा तराई मूलका बालबालिकालाई ल्याएर चोरीमा प्रयोग गर्ने गरिएको पाइएको छ। यस्ता घटनामा बालबालिकालाई प्रयोग गर्ने व्यक्तिलाई समेत पक्राउ गरी कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।















