६ भदौ,वीरगञ्ज । सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा खटिएको सशस्त्र प्रहरी बल आफैं तस्करीको चिनी गायब पारिएको आरोपमा मुछिएको छ। रौतहटको गरुडा नगरपालिकास्थित एक घरबाट बरामद गर्नुपर्ने करिब ७०० बोराभन्दा बढी चिनीमध्ये ६०० बोरा हराएपछि यो घटना सार्वजनिक भएको हो।
घटनामा संलग्न देखिएका एक डीएसपीसहित १७ जना सशस्त्र प्रहरीमाथि सशस्त्र प्रहरी बलको हेडक्वार्टरले आन्तरिक छानबिन सुरु गरेको छ। गत साउनको अन्तिम साता सशस्त्र प्रहरी मुख्यालयमा प्राप्त एक सूचनामा रौतहटको उपेन्द्र सहनीको घरमा तस्करी गरेर राखिएको ७०० बोराभन्दा बढी चिनी भएको भिडियोसहितको प्रमाण प्राप्त भएको थियो।
सशस्त्र प्रहरी मुख्यालयले सोही सूचनाका आधारमा गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी अमर लामालाई छापा मार्न निर्देशन दिएको थियो। २९ साउनको राति, लामाको नेतृत्वमा छापा मारिएको र चिनी बरामद गरिएको थियो। तर सार्वजनिक प्रतिवेदन अनुसार, भन्सारमा जम्मा १०६ बोरा चिनी मात्र बुझाइएको देखियो, जसले करीब ६०० बोरा चिनी गायब पारिएको आशंका बलियो बनाएको छ।
डीएसपी लामा हटाइए, अनुसन्धान तीव्र
प्रकरणमा डीएसपी लामाको संलग्नता प्रष्ट देखिएपछि सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालले उनलाई तत्कालै हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाएका छन्। यद्यपि नियमअनुसार डीआईजीले मात्रै डीएसपीलाई कारबाही गर्न सक्ने भए पनि, यो प्रकरणको गम्भीरता हेरेर सीधै मुख्यालयबाट कारबाही थालिएको हो।
प्रारम्भिक अनुसन्धानमा तस्करहरूले प्रहरीलाई रकम घुस दिएर ठूलो मात्रामा चिनी गायब गराएको आशंका गरिएको छ। हाल उक्त घरमा चिनी नभेटिएकोले अन्यत्र लुकाइएको सम्भावना उच्च छ।
१७ जना अनुसन्धानको घेरामा
यस घटनामा डीएसपी लामा मात्र होइन, छापा मार्ने टोलीका अन्य १६ जना समेत अनुसन्धानको दायरामा छन्। सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, तीन जना इन्स्पेक्टरसहित कुल १७ जनामाथि बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट छानबिन भइरहेको छ।उनीहरूमाथि डीएसपी लामाको निर्देशनमा चिनी गायब गर्न सहयोग गरेको आरोप लागेको छ।
यसअघि सशस्त्र प्रहरी प्रमुख आईजीपी अर्यालले भर्चुअल बैठकमार्फत सबै सीमा क्षेत्रका कमाण्डरहरूलाई कुनै पनि कमजोरी, लापरबाही वा गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

















