९ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जमानतको माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गरेकी छन् ।
यसअघि जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई जमानतमा छोड्न अस्वीकार गरेको थियो । निकिता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो श्रीमानको जीवन सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन। उनले प्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तिहरूले संसदको रोस्ट्रमबाटै धम्की दिएको आरोपसमेत लगाएकी छन् ।
पौडेलले आफ्नो निवेदनमा रवि लामिछानेलाई बिगो रकम बराबरको बैंक जमानत लिएर मुद्दाको सुनुवाइ जेलबाहिरबाटै गर्न दिन माग गरेकी छन् । उनले संविधान र कानुनले दिएका सबै अधिकार प्रयोग गर्दै न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएकी छन् ।















