९ भदौ,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन्।सोमबार वीरगञ्जस्थित हैजा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री पौडेलले तीनै तहको सरकार एकसाथ लागिपरेको उल्लेख गर्दै उपचारमा सहजता ल्याउन निजी अस्पताललाई निःशुल्क परीक्षण किट उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिए।
“प्रकोपको समयमा सबैको सामूहिक सहयोग आवश्यक“तराई अस्पतालमा हैजाका बिरामीसँग संवाद गर्दै उनले भने,“प्रकोपका बेला सरकार मात्र होइन, निजी अस्पताल, व्यवसायी, नागरिक समाज र स्वयंसेवकहरूको सहयोग आवश्यक हुन्छ। यस्तो बेला मानवीयता देखाउने हो, व्यापार होइन।”उनले निजी अस्पताललाई पनि न्यूनतम शुल्कमा उपचार गर्न र सहुलियत दिन आग्रह गरे।
“उपचारमा कम लागत लिनु, केही सेवा सुविधा दिनु मानवता हो,” मन्त्री पौडेलले भने।
मन्त्री पौडेलका अनुसार हैजा फैलनुको मुख्य कारण पत्ता लगाउन टेक्निकल टिम खटिएको छ। “७२ घण्टाभित्र कारण पहिचान गर्न सकिने अवस्था थियो, अब त्यो समयसीमा लगभग सकिन लागेकाले छिटो निष्कर्षमा पुग्नु जरुरी छ,” उनले स्पष्ट पारे।
वीरगञ्ज महानगर, नारायणी अस्पताल, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा घरदैलो स्वास्थ्य सचेतना, किट वितरण, र पानी शुद्धीकरण कार्य जारी छ। मन्त्री पौडेलले यसलाई ठूलो प्रकोपमा बदलिन नदिन सक्रिय प्रयास भइरहेको बताए।उनले सबै अस्पताल, चिकित्सक र स्वयंसेवीहरूलाई महामारीको यो घडीमा सहयोग गर्न अपिल गर्दै भने,“मिडियामार्फत सबैलाई अनुरोध गर्छु — यो हाम्रो समाज हो, हामी सबैले मिलेर यसलाई जोगाउनु पर्छ।”

















