Logo

२० फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी दिपक गिरीले आज बिज्ञप्ती निकाल्दै सभ्य एवम् सुरक्षित तरिकाले होली पर्व मनाउन सबैसँग अनुरोध गर्नुभएको हो ।

आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगरी अपरिचित मानिसहरुको समूहमा होली नखेल्न बिज्ञप्तीमार्फत भनिएको छ । कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रंगको प्रयोग नगर्न सूचनामार्फत जानकारी गराईएको छ ।

कसैले नियम विपरित गई होली खेलेमा कानुनबमोजिम कारबाही वा जरिवाना गर्ने प्रहरीले चेतावनी समेत दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि प्रहरीले भनेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नियन्त्रण कक्षको नम्बर १०० वा ९८५५०९०१३६ मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । यसवर्ष पर्सि सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।


सम्बन्धित समाचार